कविताः सरकारका गिद्देआँखा



हेल्लो सरकार !
म खेत खन्छु तिमी खेदो खन्छौ
मेरो पारिश्रम र पसिनामा गिद्देआँखा गाड्छौ
कायर छौ र त तिमी मलाई दर्बको लोभमा अर्ब पठाई,
आफू वातावरणकुलित महल र पाँच तारेमा रमाउछौ 


हे सरकार तिमी कति महान छौ 
तिम्रो दमन राष्ट्र हित, मेरो विद्रोह राजद्रोह 
म काग नै भय पनि यही जङ्गलको एक पक्षी हुँ
आखिर किन तिमी मसित यति धेरै डराउँछौ  

राजा, राणा, पञ्च, काङ्ग्रेस होस् या कम्युनिस्ट,
फगत पात्र बदल्यो होला, खै किन प्रवृत्ति बदलिएन 
तिम्रो झुठो प्रेमको नयाँ–नयाँ नामले ठग्यो मलाई,
केवल शब्द बदल्यो तिमीले तर कदापी सार बदलेनौँ

सत्कर्मको सहास गर्दा सुराकी पठाउँछौ 
ठगी, महँगी र भ्रष्टाचारको जात्र देखाउँछौ 
कुकर्म र अपराध जति सबै आफैले गर्छौं अनि
मलाई कर र कानुनले किन यति धेरै तर्साउँछौ

तिम्रो विरुद्ध बोल्ने सबै दलाल हुन् क्यारे 
नाकाबन्दीमा आफै तेल बेची मालामाल छौ क्यारे 
आन्दोलनको नाममा मेरो लासको सिँढी चढी
स्वार्थ र सत्ताको आज तिम्रो आफ्नै सरकार छ क्यारे 

-ईश्वरपुर–२, सर्लाही 
-हालः काठमाडौँ ।


reference :- https://www.ratopati.com/story/54031

Previous Post Next Post